Wednesday, December 16, 2009

सण्डे चौतारी : "समयको कसीमा घोटीएको मान्छे"


मोहनी लाग्ला है गाउलेको बोलीले डाडाखोला झरनाको गीतले
अल्झेर बगर भुलेर किनार सम्झनालाई विर्षनाको गीतले
....
एउटा साँझ तारे होटलको ११ औ तलामाथी रहेको रात्री क्लबमा मनै अनौठो-अनौठो पार्ने किसिमले यो गाना बज्यो । अनौठो ! नेपाली गीत हुनुमा हैन, अनौठो ! रात्री क्लबमा नेपाली गीत बज्नुमा हैन । हो त कल्पना नगरिएको कुरो हुनुको अनौठो हो । किनकी मलेसियाका तारे होटलहरुको क्लबमा नेपाली गीतले ठाउँ पाउनु एउटा कल्पना गर्नु सम्मको कुरो हो । किनभने ब्यावसायको हिसावले खोलिएका यस्ता क्लबहरुमा ग्राहकसँग गीतको कारोबार पनि हुन्छ नै । त्यसो हुदा ४ लाख नेपाली रहेको भनिएको मलेसियामा ४ प्रतिशत नेपालीको पनि हैसियत नहोला यस्ता क्लबहरुमा गएर मनोराजन लिने । त्यसैले यस्ता प्रकृतिका क्लबहरुमा ग्राहककै फर्माईसमा नेपाली गीत गाईन्छ भनेर सोच्नु कल्पना गनु जति कै हो । तर, ग्राहकहरुले नफुर्माउनु नै सही ! मौका पर्नासाथ यस्तै नेपाली गीत गाई दि'हाल्छन सेरा थामी र भन्छन 'आजाको साँझमा, यो गीत नेपाली दाजुहरुको नाममा ।'
पेसाले गायक सेरा थामी हिजोआज हरेक साँझ ग्राण्ड सिजन होटलको ११ औ तलामाथी रहेको प्लानेट मुम्बाई नामक क्लबमा हिन्दी गजल गाउदै गरेको अवश्थामा भेटिन्छन् । हुनत पहिला आउदा उनी गजल गाउन कै लागि भनेर चाहि आएका हैनन् रे । गु्रपका साथीहरुको लहड-लहडैमा आनन्द कार्कीलाई पछ्याउदै २००८ मा मलेसिया छिरेका थामी शुरुमा किबोर्ड बजाउथे रे । तर तीन महिने करार सम्झौतामा किबोर्ड बजाउदै गरेका थामीमाथि समयले यस्तरी फण्डुल मार् यो कि ! पछि उनले सोही क्लवमा गायकको नियुक्ति पाए । 'सम्झौता मुताविक हाम्रो करार अवधी सकिनलाई १४ दिन बाँकी रहदाको साँझ मैले एउटा हिन्दी गजल गाउने अवसर पाएँ त्यो बेला मेरो प्रस्तुतिबाट कष्टमर मात्र नभएर बोस समेत प्रभावित भएछ । पछि बोस आफैले म सँग गायकको लागि चासो राख्यो र २५ दिने परिक्षणकाल भनेर गाउने अनुमति दियो ।' आफ्नो गलाको सही पहिचान हुन सकेको क्षण स्मरण गर्दै थामीले भने- 'त्यो साँझ मैले मेहन्दी हसनको "दुनिया खुशी के प्यारमे जनत से कम नही" गजल गाएको थिए ।'
मलेसियाको नेपाली बजारमा उति सुनिने नाम हैन सेरा थामी । नाम मात्र हैन उनी उति देखा पनि परेको देखिदैनन् । सायद उनको कर्मक्षेत्रको परीधी एउटा क्लवको वरीपरी रिङ्गिने भएकोले पनि हुनसक्छ । तैपनि उनलाई दुख मनाउ रहेनछ । बरु क्लवमा गाउनुको महत्व अस्ती ६ डिसेम्बर आईतवारको दिन द खुकुरी रेष्टुरेन्टमा टुप्लुक्क भेटिएका बेला उनले खुलासा गरे-'मैले त्यही क्लवको स्टेजबाट ब्यापारी उद्योगपती मात्र नभएर बलिउडको कलाकारहरुलाई समेत आफ्नो स्वर सुनाएको छु ।'
सण्डेको दिन ब्यस्त बजार छोटो भेटको बसिबियालोमा उनको नीजि जीवनमाथि पनि कुराकानी भयो । दोलखा पुर्खौली थलो भएका चरिकोटे थामीले धर्तीमा पहिलो पाईला हाल्दा दार्जिलिङ्गको माटो टेकेका रहेछन । उनका पीता एम.वि.थामी सानोतिनो रोजगार गर्दै दार्जिलिङ्ग पुगेका रहेछन । जागिरे पतीको साथ लागेर हिडेकी माता कर्णमाया थामीले उनलाई पेटमा बोकेर दार्जिलिङ्ग पुयाएकी रहेछिन । जन्म दाजिलिङ्गमा भएपछि हिन्दी भाषा सँग उनको जन्मको सम्बन्ध गाँसियो । उनले बाल्यकाल पनि दार्जिलिङ्गको आँगनमै खेलेर विताए । जीवन र जिन्दगीको कखरा दार्जिलिङ्गकै पानी पिएर सिके । प्रमाण पत्र तह सम्मको पढाई पनि उनले दार्जिलिङ्ग बाटै छिचोले । दार्जिलिङ्गको हावापानीले उनलाई कलाकारको महत्वकांक्षा जागृत गरायो । त्यही महत्वकांक्षा बोकेर शास्त्रिय गुरु ज्यू पूर्ण राई बाबारी बाट डेढ बर्ष संगीत सिकी टोपले । तर उनलाई जव आत्मा-स्वबलम्बी हुनु पर्छ भन्ने बोध भो त्यसपछि उनी आफ्नो खुट्टामा उभिने कसरतमा लागे र नेपाल छिरे । नेपाल उनी पुर्खौली थलथलो भनेर मात्रै छिरेका हैनन् बल्की आफू उभिन सक्ने सम्भावना पनि नेपालमै देखेर छिरेका रहेछन ।
संघर्षका शुरुवती दिनहरु थामीले यसरी सुनाए- 'वि.सं. २०५० सालमा केही गरौ भनेर म नेपाल छिरे र ईलामको रक्से भन्ने ठाउँमा "गजुर मुखी ईलिस बोर्डिङ्ग" स्कुल खोले । प्रा.वि. तहको पढाई हुने यो बोर्डिङ्ग स्कुल मैले २ साल चलाए ।' उनकै अनुसार उनले खोलेको यो बोर्डिङ्ग राम्रै सँग चलेको थियो रे । हुनपनि सक्छ ! किनकी त्यो समय भनेको नेपालको ग्रामिण समाजमा पनि बोडिङ्गको प्रभावले उधुम मच्चाएको समय हो । अझ पूर्वतिरका बोर्डिङ्ग स्कुलहरुमा दार्जिलिङ्गको मास्टरलाई त पढाईको कसी नै मान्छन् । दार्जिलिङ्गे मास्टर छ भने अभिभावकलाई कन्भिन्स गराउन उती कसरत नै गर्नु पर्दैन । त्यसैले दार्जिलिङ्गको रहन-सहन, शिक्षा-दिक्षा पाएका थामीले खोलेको बोडिङ्ग स्कुलले पनि ब्यापकता पाएको थियो भन्नेमा शंका गर्ने कुरो भएन । तर पनि उनले २ बर्ष मात्र किन चलाए त ! भन्ने जिज्ञासा उठ्यो र सोधियो पनि । जवाफमा उनले भने- 'खासमा मलाई काठमाण्डौको भिडमा संघर्ष गर्नु थियो र आफुले खोलेको बोडिङ्ग स्कुल अरुलाई चलाउन दिएर २०५२ मा काठमाण्डौ आँएको हुँ ।'
काठमाण्डौ प्रवेश गरेपछि थामीको संघर्ष पुनः जिरोबाट शुरु भयो । "प्रमाण पत्र तहको सार्टिफिकेट, पूर्ण राई बाबारी ज्यू बाट डेढ बर्ष शास्त्रिय संगीत सिकेको शीप, दुई बर्ष आफ्नै बोडिङ्ग चलाउदाको अनुभव !' यीनै हतियार भिरेर उनी राजधानी पसेका थिए । त्यसैले उनले सर्टिफिकेटलाई नै ईस्तमल गर्दै शिक्षण पेसा शुरु गरे । उब्रेको समय संगीतकर्मी साथीहरुको हिमचिममा लगाए । संगीतकर्मी साथीभाई सँगको संगत उनको लागि कुरिङ ढुङ्गा सावित भयो जहा उनले दार्जिलिङ्ग छदै सिकेको आधाकल्चो संगीत ज्ञानलाई घोट्ने अवसर पाए अनि धार निकाल्दै गए र लाक्ने बनाए । तर उनले पुनहः गुरु थापेर औपचारिक संगीत चै सिकेनन् । त्यसपछि "आसा ईलिस बोडिङ्ग" स्कुलबाट शुरु भएको उनको शिक्षण पेसाले ब्यापकता पायो । उनी एकेडेमिक अध्यापन गराउने शिक्षक त थिए नै जव उनलाई आफुसँग भएको संगीतको सुर ताल अरुलाई पनि बाढ्न सक्छु भन्ने आँट आयो अनि उस्ताद बन्ने मनोकांक्षा बोकेर संगीत सिकाउन थाले । उनले आफुले काम गर्दै गरेको बोडिङ्ग स्कुलमा मात्रै आफुलाई सिमित राखेनन बल्की "भि.एस. निकेतन" "प्यारागन पब्लिक स्कुल" जस्ता नाम चलेका अन्य स्कुलहरुमा पनि पार्ट टाईम संगीत सिकाउन थाले । उबेलाको दिन सम्झिदै उनले भने- '१० बर्षको स्ट्रगल पछि बल्ल काठमाण्डौमा आफु पालिन र परिवार पाल्न सक्छु भन्ने बनाउन सके ।'
भनिन्छ, 'ईलामको चिया बगानको मनमोहकता देखेर मान्छेहरु लोभिन्छन्, चियाको सुरुप सँग स्वच्छन्दता साट्दछन ।' तर दार्जिलिङ्गबाट ईलाम आएका थामीले त यसका अलवा दिल पनि साटेछन् र चियाको बुटा-बुटाहरुमा लुकामारी खेल्दै दानु राई सँग प्रेम रोपेछन् । ६ बर्ष सम्म चलेको उनीहरुको प्रेमले अन्ततः २०५२ सालमा पूर्णता पाएको रहेछ । जातले राईको छोरी सँग थामीले बैवाहिक सम्बन्ध जोड्नु पुरातन समाजमा एउटा सांस्कृतिक क्रान्ति जतिकै हो । त्यही भएर अन्तरजातिय विवाह गर्नु पर्दाको बाधा ब्याबधान बारे जिज्ञासा राखियो । यस्तो जिज्ञासामा थामीले भने- 'विवाह मान्छेको नीजि जीवन सँग सम्बन्धित हुने भएकोले एकअर्काको मन हृदय महत्वपूर्ण हो । मन मिले पछि जात भन्ने कुरो गौण हुन्छ ।'
थामी दम्पती विच प्रेमको समिप्यता कति सम्म रहेछ भने २०५४ सालमै उनीहरुले पुत्र लाभ गरे । थामी दम्पतीले पुत्रलाभलाई प्रेमको उपहार मात्र ठानेनन् । बरु दम्पती विचको समिप्यताको प्रमाण माने र छोराको नाउँ जुराए "समिप" । प्रेममा सफल भएका थामीलाई पुत्रलाभ भएपछि लाग्यो अव सफलताको दिनहरु शुरु भयो । त्यसपछि उनले आफूलाई गीत संगीत क्षेत्रमा परिक्षण गराउन चाहे अनि आफ्नो एकल स्वरबद्ध एल्बम निकाले र नाम राखे "समिप" । यस एल्बमले उनलाई आफ्नो जन्मथलो तिर बढी चिनायो । एल्बमको सफलता बारे उनले थपे- 'समिप एल्बमको कारणले नै मैले मिरिक, सिलगुडि, दार्जिलिङ्गमा प्रोग्राम गर्न सफल भए । अहिले मेरो नयाँ एल्बम "भेटौ इृलाममा" बजारमा आएको छ । यसलाई पनि समिप एल्बमकै प्रतिफल मान्नु पर्छ ।'
विहे गरेकै साल कान्तीपुरी-नगरी हेलिएका थामीले संघर्षका खुड्किलाहरु एक पछि अर्को गर्दै उक्लन थालेपछि परिवारलाई पनि झिकाए । काठमाण्डौको महंगी, रासीन-पानी, नुन-भुटुन देखि लिएर हरेक चिज किनेरै गर्जो टार्नु पर्ने भए पनि उनले खुट्टा लरखराएनन् बरु परिआएका समस्यासँग संघर्ष गर्दै रहे र आर्थीकमा पनि आफूलाई बलियो बनाउदै लगे । यो यात्रामा श्रीमतीबाट पाएको साथ थामी खुलेरै प्रसंसा गर्छन् । परिवार बिग्रन र सप्रनमा आईमाईको हात हुन्छ भने झै आफ्नो परिवार सपि्रएको जस उनले श्रीमतीलाई दिए र भने- 'म त जुटाउने न हुँ, परिवारको सम्पूर्ण देखबाहाल र ब्यवस्थापनको जिम्मेवारी त श्रीमतीले नै सम्हालेकी छे । उनी कै आड भारोसाले अहिले म यो स्तरमा आईपुग्न सफल भएको छु । हुनत श्रीमती र श्रीमान विचको साथ र मायाको हिसाव किताव हुदैन यदी भैहालेछ भने पनि उनीबाट पाएको साथ र मायाको ऋण जन्मान्तर चुक्ता गर्न सक्दिन ।' दानु राई सँग लव गरेर प्रणय-सुत्रमा बाधिएका थामी भावुक भएर बोलिरहेका थिए- 'यदी मेरो हृदयमा माया भन्ने चिज साच्चिकै छ भने सबै भन्दा बढी माया म मेरी श्रीमतीलाई गर्छु ।'

काठमाण्डौ ब्यस्त शहरमा ब्यस्त जीवन विताउदै गरेका थामी र उनका ग्रुपको साथीहरु विच कुराकुरैमा "मलेसिया जाने ?" भन्ने कुरो चलेछ । सबै साथीहरुले "जाने भए जाउँ न त !" भन्न थालेछन् । प्रस्ताव लिएर पुगेका गायक आनन्द कार्कीले समेत "सेरा भाई ! जाउँ मलेसिया ।" भनेछन् । "जाउँ भने जाउँ नै त !" भनेकै भरमा किबोर्ड र गीतको नोटेशन बोकेर मलेसिया आएका थामी अहिले आठौ कन्ट्रयाकको दौरानसँगै प्लानेट मुम्बाईमा गजल गाउदै छन् । यो अवधीमा उनले नेपाली ग्रुप सँग मात्र हैन ईन्डियान ग्रुप सँग पनि काम गरिसकेका छन । दाम र नाम पनि कमाएका छन । यतैको कमाईले सबैभन्दा बढी माया लाग्ने श्रीमतीलाई मलेसिया ल्याएर घुमाई दिएछन् पनि । उनले आफ्नो बोसको पनि खुलेरै ईज्वत गरे- 'बोसले म र मेरो कलाको ईज्वत दियो, मैले पनि ईज्वत दिनेलाई ईज्वत गर्न जान्नु पर्छ ।'
थामीको संघर्षमय दिन र अहिलेको अवश्थामा एउटा अनौठो तालमेल देखिन्छ । जस्तोः कस्तुरी आफूसँगै बृन्दा बोकेर बासनाको खोजीमा भौतारिरहन्छ र आफ्नौ नाईटोबाट त्यो बासना पोखिई रहेको छ भन्ने भेउ पाउदैन । त्यस्तै थामी पनि भौतारिने क्रममा मास्टर बने, उस्ताद बने, यो बनि टोपले, त्यो बनि टोपले । तर प्लानेट मुम्बाईको स्टेजले उनको बृन्द कहा छ भन्ने देखाई दिएको छ र गाएरै परिवार पाल्न सक्छु भन्ने सम्मको विश्वासिलो बनाएको छ । त्यसोत दार्जिलिङ्ग छदाताकै संगीतको रस पसेका थामीले भविष्यमा गाएर जीवन चलाउन सक्छु भन्ने सोचेका थिएनन् रे । हुनसक्छ ! जन्मसँगै हिन्दी भाषा सँग साईनो गासिएका थामीले हिन्दी भाषासँग परंागत भएपनि हिन्दी गाना गाएर नै जीवन चलाउछु भन्ने पनि सोचेका थिएनन् होला । तर समय क्रमले यतिबेला उनले नसोचेको पुर् याई दिएको छ । त्यसैले सोचाई र लक्ष तय गरे असम्भव नहुदो रहेछ भनेर विश्वास पालेका थामीले ईण्डियान कलाकार "कैलास खेर" सँग प्रोग्राम गर्ने ईच्छा भएको खुलाए ।
कुराकानी कै क्रममा 'मेरो स्वर सुन्नु भा छ छैन ?' भन्ने सोधनी भयो, थामीबाट । जवाफमा भने- "तपाईले गाउने ठाउँमा जान आफ्नो औकात पुग्दैन, चेपचाप गर्ने साथी भेटे न जाने हो । एकपटक यस्तै चेपचाप पारेर लाने मान्छे भेटेर पुगेको हो । त्यतिबेला नै सुनेको हुँ । सबै गीत त याद भएन तर मोहनी लाग्ला है…। सुन्दा चै अनौठो खुशी लाग्यो ।" उनले शुरु देखि नै हाम्रो भलाकुसारी सुनी राखेका साथी पट्टि ईकित गर्दै भने- 'उहाँ सारहरु आउनु भा'को मौका मै हो नेपाली गीत गाउने । सधै हिन्दी र बंगाली गीत गाउनु पर्छ । कहिले काही मोका छोपेर नेपाली गीत गाउदा बढो आनन्द लाग्छ ।'
"छोरा मान्छेको कमाई र छोरी मान्छेको उमेर नसोध्नु" भन्ने पुरानो नेपाली आहान छ । तर मझौला कद गहुगोरो बर्णका थामीलाई उमेर सोधिएन बरु आहान अनुसार जो सोध्न नहुन्थ्यो त्यही सोधियो- "मासिक तलव चै कति छ नि ?"
सोध्न नहुने सवाल सोधिएकोले होला उनी शुरुमा फिस्स हाँसे र कुराकानीको विट मार्दै भने- 'आफ्नो तलव बाट सन्तुष्ट छु ।'

धन्यवाद

No comments: