Thursday, April 23, 2009

पुर्खाहरुको समाधी छोएर फर्किदा

-जीवन देवान गाउँले

५ अपि्रल आइतवार पुर्खा दिवस । ७-८-९-१०-११ गर्दै समय कुदिरहेको थियो । नेपाली समय यस्तै हो! भन्दैएकातिर हामी दिन छोट्याउदै थियौ भने अर्कोतिर साथीहरु किन ढिलो गर्छन भन्दै पर्खाईतन्काउदै थियौ । कोताराया स्थीत जिरे खुसा्रनी रेष्टुरेन्टमा भेला भएर पदम बाबाको घर हुदै पुर्खाहरुको समाधी स्थल पुग्ने कार्यक्रम तय गरेका रहेछन साथीहरुले । भन्नलाई विहानै प्रस्थान गर्ने भनिए पनि अवेर बाटो लागेपछि पुर्खाहरुको समाधी स्थल पुग्दा मध्य दिन भैसकेको थियो ।
झुरुरु आकास रोईरहेको छ । पुग्नु पर्ने ठाउँमा हामी पुगीसकेका छौ । तर दर्किएको पानीको कारण गाडीबाट फुत्त निस्किहाल्न सकेका छैनौ । के।एल।बाट बाटो लाग्दा मौसम राम्रै थियो । पदम बाबाकोघरबाट निस्कुन्जेल सम्म पनि मौसम राम्रै थियो । जव पौने बाटो काट्यौ तव भने एकदुई थोपा गर्दै पानीको बछिटा गाडिको अघिल्लो सिसामा देखिन थाल्यो र क्रमश बाक्लिदैगयो । हुदा हुदा बर्षाको चाप यति बढ्यो कि गाडिको वाईपर चलाउनै पर्ने भयो । हामी चढेको गाडी पदम बाबाको हो र हाँक्ने पनि उहाँ नै । उहाँले पानीले अवरोध गरेको सिसालाई वाईपरको वेगले नियन्त्रण गर्दै गाडिको गती बढाउन छाड्नु भएन र १२ बज्दा नबज्दै पुग्नु पर्ने ठाउँमा पुर् याई छाड्नु भयो ।
पानी दर्किने क्रम जारी नैछ झण्ट थामिनेछाँटकाँट पनि छैन र हामीलाई पनि रुझ्ने आँट आएन । जसले गर्दा सान्र्धविक असान्र्धविक कुरो गर्दै हामी गाडि भित्रै ओतिन बाध्य भयौ । 'यो फगत पानी नभएर पुर्खाहरुको आँशु हो आज हाम्रा पुर्खाहरुले धित मरुन्जेल रोए ।' कुरै कुरामा यस्ता कुरा पनि निस्कियो । खैर ! हतपति नरोकिएला भन्ने लागेको बर्षाकरीव १५ मिनेट पछि रोकियो । सडकको एक छेउमा थकाईमार्न उभाईएको गाडिबाट हामी ओर्लियौ उसैगरी अन्य गाडिबाट पनि साथीहरु फुत्त फुत्त बाहिरिए । सडक क्रस गरेर अलिकति उकालो उक्लिए पछि पुर्खाहरुको समाधी लहरै देखियो ।
वरीपरी जंगल, करलो-करलो परेको पाखामा रहेछ, पुर्खाहरुको समाधी । तारबारले चौघेरो हालिएको रहेछ भने एउटैमात्र प्रवेश द्धार जहा THE GURKHA SEMETERY SIKAMAT लेखेको सानो बोर्ड टाँसिएको रहेछ । त्यही प्रवेश द्धार बाट हामी एक-एक गर्दै प्रवेश गर्न थाल्यौ भने क्यामेरा साथमा हुने साथीहरुले दृश्य कैद गर्न थाले । मैले पनि आफु सँग भएको क्यामेरा निकाले पावर अन गरे र खिच्न थाले क्लिक…क्लिक…क्लिक…। साथीहरुले कार्यक्रम प्रति ध्यानआकार्षण गराउदा सम्म मैले निकै क्लिक मारीसकेको थिए ।
समाधीस्थल चौधेरो भित्रको एकछेउमा बटुलिएपछि रामचन्द्र गिरीले उद्घोष गर्दै कार्यक्रम दुई चरणमा भएको जानकारी गराए । जसमध्ये पुर्खाहरुको समाधी स्थलमा पुगेर समाधी माथी ससम्मान श्रदाको फूल चढाउने कार्यक्रम पहिलो चरणमा रहेको थियो र हामी यतिबेला पहिलो चरणको कार्यक्रमलाई औपचारीक रुपमा अगाडी बढाई रहेका थियौ । पुर्खा दिवस २००९ का मलेसियाका लागि संयोजक समेत रहेका विचारी चाम्लिङ्गको सभापतित्वमा प्रमुख अतिथी नेपाली मुलका मलेसियन नागरीक तथा समाज सेवी पदम बाबाले समाधीहरु मध्येको एउटा समाधीमा फूलपाती चढाउनु भए पछि उपस्थित हामी सबैले एकएक गर्दै समाधीहरुमा चढाउन थाल्यौ । यसरी फूतपाती चढाउने क्रममा करीव २०० को हाराहारीमा भएको पुर्खाहरुको समाधी स्थल माथी हामीले लगभग डेढ घण्टा जति समय अर्पण गर् यौ ।
दोश्रो चरणको कार्यक्रम युनिटी लाईफ इन्सोरेन्सको सभा हल कोतारायामा तय गरेका रहेछन साथीहरुले । पहिलो चरणको कार्यक्रम पश्चात सिधै हान्नियो केएल हामी चढेको गाडी । सेरेम्बान बजार हुदै गाडी हुईकिए पछि पुर्खाहरुको समाधी स्थल तत्क्षणलाई ओझेल भयो । तर मेरो मानसपटल बाट भने मैले आफुलाई समाधी स्थलबाट अलग्याउन सकेको थिईन । मेरो मन त्यही थियो र समाधीहरुको लहरमा खोजीरहेको थियो आफ्नो जिजुबाजेलाई । म जातले याख्खा हुँ त्यही भएर फूल चढाउने क्रममा मैले आफ्नो वंशको पनि समाधी होला की भनेर धुईधुईती खोजेको थिए तर लिम्बु राई गुरुङ्ग मगर तामाङ्ग को अधिकतम र अंशीक संख्यामा रहेका क्षेत्री तथा दलितहरुको समाधी विच याख्खा लेखिएकेा समाधी नभेटीए पछि मैले ति समाधीहरु माथी नेपाली नागरीकको नाताले श्रृदा सुमन फूल अर्पण गरेको थिए ।
हाम्रो पुर्खाहरुको समाधी भन्ने जान्दा जान्दै मैले याख्खाहरुको पनि समाधी छ कि भनेर किन खोजे हुँला यो मलाई सोधिन सक्ने सम्भावित सवाल हो । यसलाई धेरैले अनेक अर्थ लगाउन सक्छ । यस सन्दर्भमा मलाई लागेको के हो भने देश सँग जनता हुन्छ र जनता सँग जात जोडिएको छ । जातले वंश पैल्याउछ र एउटा अस्तित्वमा अडिनको लागि पैल्याउनु पनि पर्छ । त्यही भएर मैले याख्खाहरुकेा पनि समाधी होला कि भनेर खोजेको हुँ । किनभने याख्खाको समाधीमा म जति भावविभोर भएर त्यो दिन अन्य जातका साथीहरुले फूल अपर्ण गर्न सक्नुहुन्थेन । भलै उहाहरुले नेपाली राष्ट्रियताको नाताले भावुक भएर आँशु किन नखसाउन ।
सन् २००१ को मध्यबाट म मलेसियामा छु । सन् २००७ को मार्च-अपि्रल दुई महिना नेपाल गएको बहायक मेरो बाँकी पुरै समय मलेसियामा नै वितिरहेको छ । यो लामो अवधीमा यतै स्थापना भएका संघ संस्थाहरुको थोर बहुत जानकारी बटुलेको छु भने केही संघ संस्थामा त संम्लग्न भएकै अनुभव छ । सोही आधारमा भन्न सक्छु कि प्रतिशतको हिसावले जात सँग सम्बन्धित संघ संस्थाहरु नै बढी चलायमान देखिन्छ । यहा लिम्बुहरुको याक्थुङ चुम्लुङ्ग छ राईहरुको किरात राईयायोख्खा छ मगरहरुको प्रवासी मगर संघ छ गुरुङ्गहरुको तमु समाज छ तामाङ्गहरुको प्रवासी तामाङ्ग एकता समाज छ याख्खाहरुको किरात याख्खा छुम्मा सम्पर्क माच छ त्यस्तै गरेर अन्य जात सँग सम्बन्धित संघ संस्था पनि छन् । यी मध्ये पनि नढाटी भन्नु पर्दा मगर गुरुङ्ग तामाङ्ग लिम्बु राई हरुकै संघ संस्थाको चुरीफुरी बेसी छ । त्यति हुदाहुदै पनि हाम्रो वंशपुर्खाहरुको नाममा ३६५ दिनबाट झिकेर एक दिन सुम्पिदिउ भन्ने सोच ति जातका संघ संस्थाहरुमा पलाएको सम्झना छैन । हाम्रो वंशपुर्खाहरुको समाधीमा एकथुङ्गा फूल चढाएर आयौ भनेर भनेको सुनेको छुईन । बरु सहिदको सम्झना गर्ने नाममा तिनका टाउकोहरु झुकेको भने देखेको छु । मलाई ताजुव त यहा लागेको छ कि साथीहरु जात धर्म संस्कार कला-संस्कृति भन्दै उप्रुी उप्रु कराउछन तर आफ्नै नाकको डिलनिर चिरनिन्द्रामा सुतेका वंशपुर्खाहरुको समाधी देख्दैनन् । जहा सम्म लाग्छ ति जातका समुदायहरुमा पनि कुल पुजा गर्ने संस्कार होला । कुल पुजा गर्नु भनेको वितेर गएका वंशपुर्खाहरुलाई सम्झनु हो । सयौका संख्यामा नउठ्ने गरी सुतेका समाधीहरु भेटेर फर्किदा अव त्यसरी उप्रुी उप्रुी कराउनुले के अर्थ राख्ला भन्ने चासो लागिरहयो ।
म गाडी भित्रको पछिल्लो सिटमा बसिरहेको थिएँ । देख्नलाई आरामले नै बसेको देखिन्थ्यो तर मन भित्र ठेलामठेल गर्दै उठेका प्रश्नहरुले दिएको छटपटि देखाउन मिल्थेन । मन बहलाउनलाई गाडीको सिसाबाट बाहिर दृष्टी फाँले । हामी सुङाईवेसी एयरपोर्ट आईपुगिसकेका रहेछौ । एउटा सानो जहाज उड्ने तयारी गर्दै गरेको देखियो । हेर्दा हेर्दै गाडिले रोयल प्यालेस क्रस गर् यो र सेन्ट्रल मार्केटको काखैबाट चिप्लिएर कोताराया कम्ल्पेक्सको कार पार्किङ्गको प्रवेश द्धारमा उभियो । गाडिबाट झर्दा मलाई लागिरहेको थियो- अव जलान सिलाङ्गको भिडमा लिम्बु राई मगर गुरुङ्ग तामाङ्ग साथीहरु सँग मेरो भेट हुनेछ ।
- 'कहा गएको थिईस ?' भनेर उनीहरुले सोध्नेछन ।
- 'तिमीहरुको वंशपुर्खाको समाधीमा फूल अर्पण गर्न ।' म भन्ने छु ।
मैले यसो भन्दा ति पुर्खाहरुका नाती पनातीहरुको अनुहार लाजले रातो पीरो होला कि नहोला यही जिज्ञासा मनमा बोकेर आफुलाई भिडमा सामेल गराउछु ।


for comment,- g1gaunle@yahoo.com