Tuesday, July 12, 2011

पुस्तक चर्चा - समग्रमा यात्रा भाग १


-जीवन देवान 'गाउँले'

यात्रा भाग १ जसलाई विश्वब्यापी साहित्य संगालो भनिएको छ- यात्रा साहित्य माच फाक्चामारा तेह्रथुम द्धारा प्रकाशित पत्रिका हो । जुन पत्रिकाको विमोचन मलेसियाको मुटु भनिने क्वालालम्पूर शहरमा १९जुन आईतवारको दिन भै सकेको छ । अनाम मण्डली मलेसियाको माचबाट सार्वजानिक गरिएको सो पत्रिकाको उद्देश्य भन्नु (मलेसियामा कार्यरत रहेका तेह्रथुम फाक्चामाराका साहित्य प्रेमीहरु द्धारा विश्वका विभिन्न कुना कुनामा छरिएर रहेका साहित्यकारहरुलाई एउटै मालामा उन्ने उद्देश्यले यस पत्रिकाको प्रकाशन गरेका छौ । -सम्पादकिय) रहेको छ ।
लहड भनौ या रहर ! जे भनेपनि एकप्रकारले साहित्यिक पत्रिका(विद्यागत/संगालो) प्रकाशन गर्ने होड नै चलेको छ मलेसियामा । त्यही हारमा पंक्तीबद्ध हुन आईपुगेको छ यात्रा भाग १ यतिबेला, विश्व ब्यापीकरणको कुम्लो कसेर । (…र विश्व ब्यापीकरण गर्दै डायस्पोरिक क्षेत्रमा पछिल्लो दशकमा देखिएका सशक्त साहित्यकार र नेपालका साहित्यकारहरुलाई समेत सामेल गरेका छौ । -सम्पादकिय)
यात्रा भाग १ पढिसकेपछि यी तथ्यहरुलाई नकार्न सकिदैन ः-
साहित्यिक संगालो यस अर्थमा ः- कविता बिद्या अन्तरगत - ९, गजल बिद्या अन्तरगत (लिम्बु भाषामा लेखिएका १ गजल सहित) - ८, गीत बिद्या अन्तरगत - ४, मुक्तक बिद्या (मैथीली भाषामा लेखिएको १ मुक्तक सहित) - ६, हाईकु तथा तांका बिद्या अन्तरगत -३, कथा / लद्युकथा बिद्या अन्तरगत - ५, निबन्ध-संस्मरण-नियात्रा बिद्या अन्तरगत - ३, चिठ्ठी लेखन बिद्या अन्तरगत - २, पुस्तक समिक्षा - १, आलेख - १, -संग्रहित गरिएको हुनाले ।
विश्वब्यापी यस अर्थमा ः- नेपालको प्रतिनिधित्व गर्दै मनु लोहरुङ्ग, शर्मिला खड्का दाहाल, निराजन बतास, प्रकाश आङ्गदेम्बे लगायत खगेन्द्र पन्धाक लिम्बु (थाईलेण्ड), उमा सुबेदी (ईज्रायल), विष्णुनन्द चाम्लिङ्ग (हङ्गकङ्ग), लोकेश याक्थुङ्गवा (िसंगापूर), अन्जु अन्जली (युके), भारती गौतम (अमेरिका), ईन्द्रा चाम्लिङ्ग (भारत), निराजन प्रभात लुईटेल (दोह कतार), कल्पना अवस्थी (क्यानडा), विनय विष्ट (साउदी), मौलश्री लिम्बु, श्रीजन श्री, मनि राई 'गोठाले', दिलिप राई 'सगर' आदी (मलेसिया) -को प्रतिनिधित्व हुनुले ।
डायस्पोरीक क्षेत्रमा पछिल्लो दशकमा देखिएका सशक्त साहित्यकारको सामेल यस अर्थमा ः- खगेन्द्र पन्धाक लिम्बु (सोक्पा हुँ - कविता), भारती गौतम (कामनाको कोठो - कथा), केदार संकेत (दुवईको परोनी - याात्रा सपर्शु) -को उपस्थिति हुनुले ।
नेपालका साहित्यकारहरुको सामेल यस अर्थमा ः- मनु लोहरुङ्ग (मृत वस्तुभित्रको अमृताकार - कविता), शर्मिला खड्का दाहाल (वास्तविकता - कथा), स्व.स्वप्निल स्मृति (कागु - कविता), विक्रम सुब्बा (बाध्यतावाद - निबन्ध) -को सहभागीता हुनुले ।
यतिथोक संकलन गरेर विश्वब्यापी साहित्यिक संगालो दावी गरिएको यात्रा भाग १ अहिले पाठकहरुको हातमा साहित्यिक पत्रिकाको रुपमा आईपुगेको छ र यसलाई सबैभन्दा बढी मलेसियाकै पाठकले पढ्ने छन् । किनभने यो स्वभाविक पनि हो कि पुस्तक तथा पत्र-पत्रिका जुन मुलुकमा प्रकाशित गरिन्छ पाठक पनि सोही मुलुकका बेसी हुन्छन ।
अक्सरगरी प्रवासमा रहेर पुस्तक तथा पत्र-पत्रिका प्रकाशन गर्ने प्रकाशकहरुले सम्बन्धित मुलुकका दुतवास प्रमुखको शुभकामना राख्ने गरेको बाक्लै पाईन्छ । अपवादका केही प्रकाशक होलान जसले त्यसरी दुतवास प्रमुखको शुभकामनालाई उति महत्व दिदैनन् । हुनतः शुभकामनाले पुस्तक पत्र- पत्रिकाको गरीमालाई धरातलबाट उचाल्छ या उचाल्दैन उचाले कतिको उचाई सम्म उचाल्छ त्यो एउटा सोच र तर्कको विषय होला । जे होस मलेसियाको हकमा भन्नु पर्दा दुतवास प्रमुखको शुभकामना सहितको पुस्तक प्रकाशन गर्नुलाई प्रकाशकहरु पुस्तकको प्रतिष्ठा नै मान्छन र एकहद सम्म यस्तो परिपाटी नै पनि बसेको छ । तर यात्रा भाग १ ले त्यो परिपाटीको उल्टो यात्रा आरम्भ गरेको भान दिन्छ । यद्धपीः यात्रा भाग १ को सौन्दर्यमा शुभकामनाको सुगन्ध नभेटिने भने हैन । वर घरदेशका कुलपती नेपाल प्रज्ञा प्रतिष्ठान वैरागी काईलाको शुभकामना लिपिक्क टाँसिएको छ ।
'दुईचार देशमा बसेका सर्जकहरुको सृजना भेला गर्दैमा विश्वब्यापी साहित्य संगालो भन्न मिल्छ ?'- यसो भनेर सम्पादकलाई कसैले औलो ठड्एछन । जवाफमा सम्पादकले भनेछन्- 'सात समुन्द्र काटेर परको देश जानेलाई मात्र परदेशी भनिदैन दुईचार माना चामल कुम्लो कसेर आह्रा काट्ना जाने, बेसाह गर्न परदेशीनेहरुलाई पनि परदेशी नै भन्छौ । त्यसोहुदा यात्रा भाग १ पनि विश्व ब्यापी साहित्य संगालो नै हो भन्ने मेरो दावा हो ।' यो दुई पात्रा विचको बार्तालाप यात्रा भाग १ का सम्पादक गनिन्द्र 'विवश'ले विमोचन कार्यक्रममा खुलासा गरेका हुन । अव यति नै कारणले यात्रा भाग १ लाई विश्व ब्यापि साहित्य संगालोको उपमा दिन सकिने कि नसकिने ? -को तिलक पाठकहरुको जिम्मामा आईपुगेको छ र असलमा सच्चा निर्णय दिन सक्ने पनि पाठक नै हुन । जसको लागि पाठकले यात्रा भाग १ लाई चाही पढ्नै पर्ने हुन्छ ।
पुस्तक ः- यात्रा भाग १
सम्पादक ः- गनिन्द्र विवश
कायकारी सम्पादक ः- भिम स्नेही लिम्बु
प्रकाशक ः- यात्रा साहित्य माच फाक्चामारा तेह्रथुम ।