Wednesday, July 24, 2013

कथा :


                                       सिकार 

पेशल माबुहाङ
अचानक–
‘हौ सिकार खेल्न जौँ विनोद मूला ! कति बस्छस घरमा गुम्सिएर ? यतिबेला तेरो स्कुल पनि त विदा छ । साला ! हामी भन्दा चार पाँच बर्ष कान्छा त हो स नी ! दौतारी मिलीहाल्छ नी ! मौकामा चौका हान्नु पर्छ । यसो पासो थाप्ने गोलीगठ्ठा चलाउने तरिकाहरु पनि त सिकिराख्नु प¥यो नी ! पछि एकै बाजी त अप्ठ्यारो पर्छ है । लौ है ! बन्दुकको पनि सफाई हुने, अनुभव पनि हुने । के खिया पारेर राख्नु ? सब यतिबेला नै हो क्या लाटा !’
कौतुहलता–
रमेशले यस्तो नसोचेको कुरा सुनाए पछि बिनोदको जीवनमा नयाँ हलचल पैदा हुन्छ । सोच्न बाध्य हुन्छ । उ पनि मान्छे नै प¥यो । अरु मान्छेलाई जस्तै उसलाई उत्सुकता नहुने कुरै भएन । भर्खर उत्तरवाल्य अवस्थाबाट यौवन अवस्थामा प्रवेश गर्दै गरेको केटो । प्राकृतिक रुपमा नै उत्तेजना आउने त छदैछ । उमंग, तरंग, जोसले करेण्ट लागे झै झड्का लाग्न थालेको महसुस गर्छ । मनसँग एकलाप गर्न थाल्छ,– ‘भर्खर चौध टेकिएको छ, ज्यानले धान्ला र ? कलिलो उमेर मै सिकार खेल्नु भनेको गोली बारुदसँग पौठेजोरी खेल्नु हो । खतरा पनि उतिकै । रोग सोग ... आ ! छोरा मान्छेले हारेस र हार खानु हुदैन । आँटौ भने पछि आँटौ ।’ साहस गर्छ रमेश । भक्त, केशर जस्तै खुङखार सिपालु सिकारी बन्ने निर्णय सँगै उसको अनुहार रातोपिरो भएको छ । डर, त्रास, कौतुहलता, लाज, शरमले । गुनगुनाउछ – पहिला चाखेर त हेरौ !
दुविधा–
कुरै कुरामा रमेशलाई भनेको कुरा सम्झन्छ । 
‘के गफ दिनु हुन्छ हौ दाई, तपाईहरुको सिकार त्यही भालु त हो नि, नजानेको हो र ? छ्या घिनलाग्दो ! के जानु तपाईहरु सँग सिकार खेल्नु ? पहिलो पल्ट स्र्टाटिङ मै साईत मात्र बिग्रिन्छ ।’
रमेश रिसले चुर भएर ‘हौ मु...जाँ...चि...तैले मलाई भालु माात्र मार्ने सिकारी देखिस ? मामुली ठानेको ? नपत्याएको ? पाँच बर्ष भयो बुझिस यो पेशामा लागेको,एस.एल.सी.मा खुस्किए यता । म त नयाँ नयाँ अनौठो अनौठो सिकारको खोजीमा हुन्छु । मार्न धेरै मेहनत गर्नु परोस तर खाँदा स्वादिलो, मिठो होस । नपत्याए भक्ते, केशरे, रामेहरुलाई सोध् ! हौ जाँठा ! जाँदैन भने नजान, कर पनि छैन । फुर्ती गर्छ ।’ 
यतिन्जेल उसलाई जाऊँ कि नजाऊँ नै छ ।
निर्णय–
सुनेको हुन्छ, –विनोदले प्यास चुस्छ । रमेश त यो गाउँकै एक नम्बरको सिकारी । जुनसुकै जंगल छिचोल्न नसकिने घनघोर किन नहोस गए पछि खाली हात फर्केको रेकर्ड छैन । पहिला निशाना लगाउनु प¥यो । जव निशानामा नजर प¥यो हण्ड्रेट परसेन्ट सिकार म¥यो । कल्पिन्छ, गुरु विना कोही सफल हुदैन । गुरु रमेशलाई नै बनाउछु । र, म पनि रमेश जतिकै सिपालु, रिपु हुन चाहन्छु । हो यार ! मौका चुकाउनु हुदैन । यस्तो मौका फेरी आउला तर चाँडो नआउनु सक्छ । फेरी एक्लै डर पनि हुन्छ  पहिलो पटक, पछि जे गरुला त्यो देखा जाएगा । अहिलेलाई वहाहरुसँग जान्छु । एक दुई तीन जान्छु । मेरो मन मस्तिष्कले जा भनिसक्यो । म जाने भएँ, म जान्छु । रमेश दाई...(केही च्यिाउछ) म जान्छु, तपाईसँग जान्छु । विश्वास्त हुन्छ ।
तयारी–
आज भन्दा चौध बर्ष अगाडी मेरो ब–आमाले कति दुःख कष्ट, दिनरात नभनी उकाली ओराली असिन पसिन भएर, कति दौडधुप गरेर नौ महिना पश्चात लाईसेन्स सहितको छोराको सुरक्षाको लागि भनेर थमाई दिनु भएको यो एकनाले बन्दुकको सदुपयोग त गर्नु प¥यो नी ! आमाले अझै भन्नु हुन्छ,– ‘नानी ! त्यो लाईसेन्स सहितको बन्दुक तेरो नाममा पास भएको दिन जीवनमा मैले पहिलो खुशी महसुस गरेको थे । तेरो बा त झन खुशीले ठाउँ छाडेर खुट्टा जमिनमै थिएन । गाउँभरी सुनाउदै हिड्नु हुन्थ्यो, मेरो सपना पुरा भयो छोराले लाईसेन्स सहितको बन्दुक पायो ।’ 
त्योबेलाको खुशी सम्झेर आमा अझै रुनुहुन्छ । बा–आमाले यतिको मरिहत्ते गरेर खुशी हुदै मलाई जिम्मा लगाउनु भएको चिज जान्ने बुझ्ने भईसके पछि पनि प्रयोग गर्न शुरु गरिन भने बा–आमाले के भुन्नु होला ? मानौः केही नभन्नु होला तर मेरा बा–आमाका खुशीको अर्थ नै रहेन नी ! यती पनि गरिन भने के वहाहरुको छोरा ? यो मेरो कर्तब्य पनि हो । नत्र नामर्द नै सावित होईन्छ । बेला सही छ । आँट केटा ! –शारिरिक र मानसिक रुपले नयारी हुन्छ ।
निश्कर्ष –
समयसँग चल्न जानिएन भने के को जिन्दगी ? के को मज्जा ? कहिले काँडा नै काँडा, कहिले फूलैफूल टेकेर हिड्नु पर्छ । कहिले अक्करे भीरको बाटो, कहिले समानन्तर सिधा बाटो । दुःख–सुख, मिलन–बिछोड, तल–माथि, यता–उता उत्तार चढाव आउनु नै जीवन सौन्दर्य हो । त्यसैले मेरो जीवन सौन्दर्यमा अलिकति पनि आँच आउन दिन्न । जे जे आईपर्छ भोग्दै जान्छु । यो भोगाईमा जीवनको रस हुन्छ । फेरी यी सव प्राकृतिक कुरा हुन । मलाई पनि रियाक्सन नगर्ने कुरा हुन्छ ? –दार्शनिक जस्तो दर्शन मनलाई सुनाएर निश्कर्ष निकाल्छ, –समयको माग हो मेरो माग होईन ।
भय–
सही समयमा सल्लाह त पाएकै हुँ । नयाँ ज्यान, नयाँ बन्दुक मज्जाले पड्कीने हो कि हैन अर्थात पड्किने हो कि हैन ! सपनामा त एकदुई पटक पड्काएकै हो तर त्यो त सपना थियो । यहा त विपनाको कुरा छ । पड्किएन भने फसाद । फेरी समयमा नै पड्काउन सकिएन भने झन आपत । त्यतिमात्र हो र ? सिकार उम्किन्छ, साथीहरुले भन्न थाल्छन्– ‘थुक्क नामर्द त्यति पनि नजानेको ? अव ई...खा !’ हात बनाएरै देखाउछन । ‘एक्सपेरियन्स भए पो दाईहरु पनि !’ के भन्नु, टेन्सन नै पो छ । तसर्थ विनोदको मनमा एक किसिमको भयले पिरोल्न छोडेको छैन ।
आवेग–
‘रमेश दाई ! कहिले पो जानु पर्ने सिकारमा ? म त यहा खपिनसक्नु भै सके त । के कुरा सुनाउनु भो सुनाउनु भो । न भोक लाग्छ न निन्द्रा ! होसहवास नै उडिसक्यो । यस्तो त कहिले भएको थिएन ।’ 
मेरो चालामाला देखेर बा–आमा पनि छक्क पर्नु हुन्छ,– ‘हैन आजभोली यल्लाई के भएको छ हँ ? पहिला यस्तो थिएन ।’ 
‘वहाहरु पनि चिन्तित भै सक्नु भो । दाई लु छिटो मिलाउनुहोस यो प्रोग्राम । नत्र म त पागल हुने सम्भावना पो देख्दैछु त । हर्ष, विस्मत, कौतुहलता, यौवन, उत्तेजना मिसिएर मेरो मन यति नमज्जाले भरिन्छ की वेलुनमा हावा धेरै भएर फूटे जस्तै हुन आँटिसके । मान्छे नै पड्किन आँटी सके ।’ –एक निमेश मै भनिसक्छ ।
सान्त्वना–
‘अस्ती त खुव फुर्ती लाउदै थिस त, म त्यस्तो भालु सिकार गर्ने मान्छेसँग जान्न भनेर नखरा गर्छ । जाने मन त रहेछ किन सन्किनु ? तै ठिकै छ जाने भएछस खुशी लाग्यो । तर, यसरी आतिएर कहा हुन्छ ? समय आउनु प¥यो । संयोग पर्नु प¥यो । त्यसै अतिएर हुन्छ ? हुन त मलाई पनि यस्तै भएको थियो जो अहिले तँलाई भएको छ, सन्ते दाईले सिकार खेल्नु जाँऊ भन्दा । सबैको उस्तै त रहेछ यौवन पत्तो पाएँ । सुन ! पारी गाउँमा मेला लाग्दैछ । परम्परा देखि नै लाग्दै आएको मेला हो । सालमा एक पल्ट लाग्छ । त्यहा जाने योजना हो । पशुपतिको दर्शन सिद्राको ब्यापार । कुरा बुझिनस् ? पोहोर साल क्या ! मज्जा भा को थ्यो । यसपाला पनि पोहोर भन्दा डबल रमाईलो गर्ने विचार छ । हेरौ के कसो हुने हो । औला भाँच्दै एक, दुई, तीन, चार, पाँच, छ, सात....ल सात दिन मात्र बाकी छ । मंगलबार, बुधवार, विहिवार, सुक्रवार, सनिवार, आईतवार, सोमवार...ल ल आउदो सोमवार । आईगो आईगो । नआत्ति घर जा ।’ –विनोदको आवेग रमेशले छेकथुन गर्ने प्रयास गर्छ ।
समस्या–
ब्याग्र प्रतिक्षा गरेको दिन त आयो । आउन त आयो तर पीर बोकेर आयो । हत्तेरीका बेकारमा आयो दिन । विनोद निधारमा हात राख्छ । नसोधी कतै नजाने भनिएको छ, उसलाई । जानु परे सबै नालीबेली सुनाएर मात्रै जानु पर्ने छुट थियो, त्यो पनि आफन्तकोमा मात्र । मुख्य कुरो पढाईलाई मध्य नजर राखेर उसलाई निगरानीमा राखेका थिए । छोरा बिग्रिन्छ कि भन्ने चिन्ता थियो बा–आमालाई । के गरु ? कसो गरु ? एकदम दोधार हुन्छ । कक्षा नौ मा नेपाली कितावमा पढेको उखान टुक्का ‘जहा ईच्छा त्यहा उपाय’ त्यो सम्झन्छ । साला जाउँ, भोली बा–आमाको गाली र धुलाई कति खाईन्छ भन्ने हिसाव नै छैन, नजाउँ सिकार खेल्ने रहर । बा–आमाको आँखा छलेर सुटुक्कै लुगाफाटो रमेशको कोठामा पु¥याउछ दिउसो नै । सिकार खेल्न जाने भने पछि जाने जाने । मनले जित्यो सम्भावित दुर्घटना, गाली पिटाई हा¥यो । लुगाफाटो रमेशको कोठामा आए पछि पनि उसलाई चैन छैन । गनगन गरिरहन्छ । टेन्सन नै हुने भो यो बैश पनि, कति पनि वसमा राख्न नसकिने रहेछ । म मा यत्रो हिम्मत आयो । बा–आमाले एकदिन त पिट्नु हुन्छ, गाली गर्नु हुन्छ । आखिर म वहाहरुकै सन्तान रगत माया गरिहाल्नु हुन्छ नी । एकदिन त टेन्सन । बाल मतलव । पल्लो घरमा हिडे जस्तो गरेर साँझ ६वजे भेट्ने जम्मा हुने सल्लाह बमोजिम निस्क्यो घरबाट, पीर यौवन उत्तेजना बोकेर ।
प्रस्थान–
रमेश, केशर, राम, भक्त, सन्ते, बले र विनोद बाटो लाग्छन ।
‘हौ रमेश दाई ! सुरक्षा त होलानी ?’ –केशर सुरक्षित पार्न खोज्छ सबैलाई । 
‘अरे यार, म तिमीहरु जस्तो कच्चा सिकारी हो र ? के के चाहिन्छ मलाई थाहा हुदैन ? मलाई सिकाउछ । नडराओ केटा हो, हिजो हेल्थपोष्टको ‘चाहिए जति लानुहोस’को बकास नै रित्याएको छु ।’
सबै गलल हाँसे, विनोद हाँस्न सकेन । कसरी हाँसोस ? बुझेकै छैन । नयाँ सिकारी न परो, अक्क न बक्क हुन्छ । त्यति गफ ठोक्दा ठोक्दै बाटो लागि सकेका हुन्छन । 
भक्त –‘(विनोदतिर ईङकित गर्दै) हौ केटा हो ! नयाँ सिकारी छ जान्दैन होला मोराले । पहिलो प्राथमिकता दिनु पर्छ । नयाँ पनि छ, नजान्ला, हतार गर्ला । चिथोर्लान फेरी ।’
‘किन नजान्नु सबैले गर्दै आएको तौर तरिकाहरु हुन प¥यो नी नत्र मज्जा नै आउदैन । सिक्नु पर्छ, हामीले पनि सिक्स्टी नाईन धेरै पछि जानेको हैन र केटा हो !’ –केशर थप्छ । 
‘हेर्दै खाईलाग्दो छ, जानिहाल्छ नि । के को पीर गर्छौ हौ केटा हो, हैन त विनोद ?’ –(जिस्काउदै) हो मा हो मिलाउछ राम । 
विनोद पनि यसपाला चाही हिम्मत नै गरेर बोल्छ,– ‘ट्राई गरिहेरौ न ।’ 
ठुलो हाँसो फैलिन्छ गलल ।
गन्तब्य–
नाथे डेढघण्टाको बाटो । हेला गर्दागर्दै पुगिहाल्छन एकघण्टा मै । जवानी जोसको हिडाईन परो ।
‘लौ है साथी हो कहा कहा के छ अवलोकन गरिराख्नु पर्छ । सजिलो गौडा हेरिराख्नु प¥यो नि उज्यालो हुदै । भरे फेरी समस्या पर्ला । हतार हुन्छ, त्यो बेला सिकार उम्किन्छ । अनि, थुक्क गर्नु पर्ला । एकफन्को मारिहालौ ।’ –रमेश साउती पारामा सम्झाउछ ।
सबैले विनोदलाई सम्झाउछन, –‘लौ केटा ! टाईम भो अव । नआतिनु । पहिला हाम्रो स्टाईल हेर्नु कसो कसो गर्नु पर्छ अनि बिस्तारै सिक्नु । आतिई चाहि नहाल नी । आवेगमा आउनु हुन्न । होसमा काम गर्नु पर्छ । सिकारले आक्रमण पनि गर्न सक्छ ।’
यति सम्झाएर केटाहरु लागे सिकारको खोजीमा । उनीहरु त परिसकेका सिकिसकेका, अप्ठ्यारो परेन । परो फसाद विनोदलाई । के गरु, कसो गरु, कता जाऊँ ? यता उता हे¥यो वाल्ला परेर । डर त्राससरी रुख झै उभिरहयो । शुरु कसरी गर्ने ? डर पनि लाग्छ जोस पनि लाग्छ । यसो गर्छु सोच्दासोच्दै उज्यालोको संकेत मिर्मिरे विहान देखा पर्न थाल्छ । रिसले म... साथीहरु ।
अधुरो– 
घर फर्किन सबै भेला हुन्छन । खाजापानी खाएर घर फर्किन्छन । विनोद रिसले आगो भएर बोल्छ,– ‘दाईहरुको गफ पनि देखियो । कत्रो आश देखाएर ल्यायौ यतिका लागि !’
‘नरिसान केटा ! कहिले काही यसतै हुन्छ । हातालाग्यो सून्य ।’ –रमेश सम्झाउन खोज्छ, –‘वल्ल वल्ल आफूले त फेला पारियो, अरु त तँ जस्तै भए नी ।’
‘त्यही तपाईले मारेकोलाई अनुभवको लागि भए पनि निशाना लगाएर गोली ठोक्थे नी !’ –आक्रोस पोख्छ विनोद ।
‘त्यतिबेला यादै भएन, विर्षिहाले ।’ –बुझ पचाउन खोज्छ रमेश ।
यो सम्वाद सुनेर गलल हाँस्छन अरु साथीहरु ।
आधाबाटो भयो, ला...अब पो झसंग हुन्छ, विनोद । अव कुन मुख देखाएर घर जानु ? पहिलो पटक घर छोडेर हिडेको । बा–आमाले कति पीर गर्नु भयो होला ? आज धुलाई र गाली कति खाईने हो ? कति सिर्कुना भाँचिने हो ? थाहा नै छैन । न काम भयो, न जानियो । उता खाली, यता गाली । बरवाद नै हुने भो ।
साथीहरुको हुलबाट निक्लेर अलि पर जान्छ र बन्दुक कक गर्छ । हावालाई निशाना बनाएर जोडले छुची तान्छ अनि चिच्याउछ,– बा–आमा ! तपाईहरुको छोरा पनि त निपुण सिकारी हुनु प¥यो नि !
बोली सक्दा नसक्दै बन्दुक पड्किन्छ – गड्याम्म ।
                          तेह्रथुम – बसन्तपुर 
                           हाल – मलेसिया
                            ०१६३६७९१५४

Wednesday, July 17, 2013

गफगाफ

                                                                  सासासको एक दिन
                                                                                                        –जीवन देवान गाउँले  
उभिने लहरमा क्रमशः वायाबाट अनार भट्ट, मनि रार्इ गेाठाले, राम रेप्चेाङ, गनिन्द्र विवश, राज अविरल यात्री र मनेाज विराली । बस्नेमा वायाबाट क्रमशः श्रीजन श्री, निश्चल परदेशी र जीवन देवान गाउँले         

९जून, आईतवार !
विहान क्वालालम्पूरको मुटु मानिने कोताराया स्थित पुडुराया बस पार्कमा हामी भेला हुदै थियौ । ९ बजे भेला भै सक्ने भनिए पनि कोही भेला भएका थिएनौ । ९ बजेर १० मिनेटमा म पुग्दा भाई शम्भु भण्डारी मोवाईलमा सोध्दै थिए,– ‘म बस पार्क भित्रै छु । तपाई कहा हुनुहुन्छ ?’
‘म मुख्य द्वारको अघिल्तिर उभिएर मनि दाईलाई कुरी रहेको छु ।’ भन्ने जानकारी गराउदै यतै आउनु भने । मैले दे’को लोकेशनमा शम्भु भाई आयो र हामी भेटियौ । शम्भुले नै सोध्यो,– ‘दाई खै त ?’
‘द गोर्खाजमा छु भनेर मलाई केही क्षण अघि कल गर्नु भा थ्यो ।’ भनि नसक्दै शम्भु आफैले चोर औला तेर्सायो र भन्यो,– उ दाई आईपुग्नु भो ।
निलो जिन्स सर्ट, हापपैण्ट, जालिदार स्याण्डल, अर्धआसिकी स्टाईल कपाल, डडल्नुमा खकनवाला झोला भिरेका मनि राई गोठालेले हामीलाई भेट्टाए । हामी तीन टाउका पुडुराया बस पार्क भित्र प्रवेश गयौ । प्रतिक्षालय कक्षमा बस्दै मैले भने,– ‘साथीहरुलाई यही पर्खौ ।’ 
‘हजुरहरु कहा हुनुहुन्छ ?’ सोध्दै नयाँ नम्बरवालाले आफ्नो परिचय दिए,– ‘म एन.आर.भाट्ट । प्लेट फर्म नं ११को प्रतिक्षलयमा छु ।’
‘ल म लिन आएँ ।’ भनेर प्रतिक्षाकक्षबाट फुत्त के निस्केको थिएँ, अर्का तीन टाउकाका समुह टुप्लुक्क देखा परे । ति तीन टाउका थिए, गनिन्द्र विवश, मनोज विराली र भिम स्नेही । तीन टाउकाले मलाई देखे, लगत्तै मनि दाईलाई पनि देखे । म सँग हात मिलाए, मनि दाई सँग गफिए । गफको सुरुवात मै दाईले सोधे,– ‘हन अज्ञात रोग लागेको मान्छे पनि आएछ त !’
आफूलाई लागेको बिमार बारे भिम स्नेहीले मनि दाईलाई पहिल्यै सुचित गराएको रहेछ । दाईले झोलाबाट बोतल निकाले । मिनी मिनिरल वाटरको बोतलमा स्याउको जुस रंगको झोल देखाउदै दाईले भने,– ‘भाई ! तिम्रो रोगको जडी औषधी हो यो भिखुमाको झोल ।’
अरुले पत्याए पत्याएनन् थाहा भएन तर भिखुमाको झोल भन्ने कुरा मैले पत्याईन । यतिबेला मनि दाईको अड्डाबाट बोतल अड्डासार भएर भिम स्नेहीको अड्डामा पुगिसकेको थियो । हातको बोतल खेलाउदै भिमले पत्यार गरेको नाटक रचे,– ‘दाई ! यो भिखुमाको झोल नै हो त ?’
मलाई थाहा थियो भिमले पत्याउदैन । पत्याएन पनि । तर, बाथको लक्षण देखिने रोगलाई अज्ञात रोगको संज्ञा दिएर बिराम गरेको कसुरस्वरुप मनि दाईको मजाकलाई एक घुट्को घुट्क्याई दियो । र, भन्यो,– ‘हो रै’छ ।’
हामी अर्थात म, मनि राई गोठाले, श्रीजन श्री र निश्चल परदेशी हौ साहित्यिक कार्यक्रमको सुत्रधार । मलेसियाको नेपाली साहित्य लेखनलाई चलायमान र प्रभावकारी बनाउने उदेश्यका साथ केही हप्ता देखि हामीले साप्ताहिक साहित्य सण्डे(सासास) नामक कार्यक्रम चलाई राखेका छौ । जस अन्तर्गत बितेको दुई सण्डे मलेसियाली नेपाली साहित्यमा मुक्तक लेखनको अवश्था तथा वाचन कार्यक्रम सम्पन्न गरि सकेका छौ । कार्यक्रमका नाम जुराउने पण्डित हुन मनि राई गोठाले । गेन्तिङ हाईल्यण्ड साहित्यिक भ्रमण नाम दिएर साप्ताहिक साहित्य सण्डे कार्यक्रमलाई निरन्तरता दिन यो हाप्ता हामी गेन्ति हाईल्यण्ड जान पुडुराया बसपार्कमा भेला हुदै थियौ ।
फेरी मोवाईल बज्यो । कल गर्ने एन.आर.भट्ट हुनुहुन्थ्यो । मैले मोवाईल रिसिभ गरे साथै सबैलाई मुभ हुने निर्देशन पनि गरेँ । प्लेटफर्म नं ११ मै भेटिए एन.आर.भट्ट । पहिला हामी तीन थियौ पछि तीन थपिए छ भयौ । छ मा एक थपिनु भो सात भयौ ।  यतिन्जेल ९:३० बजिसकेको थियो । हामी सातैजना गेन्तिङ हाईल्याण्ड टिकट काउन्टरमा गयौ ।
कति जनाका लागि किन्ने ? –टिकट काट्न पहिला छलफल भयो । ‘१०बजे भित्र आईपुग्छु’ –को तात्तातो एसएमएस गर्ने श्रीजन श्री आईपुग्ने पक्कापक्की थियो । राज अविरल यात्री र निश्चल परदेशीसँग बारम्बार सम्पर्क गर्नु हुने गनिन्द्र विवशले भन्नु भो,– ‘आईपुग्नै लाग्नु भो रे, उहाहरुको पनि टिकट लिदा भो ।’
टिकट काउन्टरमा गएर चेक गरे । बस १०ः३०मा छुट्ने सेड्युल रहेछ । ‘यहा पानी घनघोर दर्किरहेको छ, के गरौ ?’ भनेर केही समय अगाडी फोन गर्नु हुने राम रेप्चोङ आईपुग्ने हो या हैन टुङ्गो थिएन । मैले फोन गरेर सोधे,– ‘१०:३०मा बस छुट्ने रै’छ टिकट के गरौ ?’ ‘हुन्छ लिनुस ।’ भनेर राम रेप्चोङबाट जवाफ आए पछि टिकट लिनु पर्ने टाउको गनियो । जम्मा ११जना भईएछ जाने तर भेला भएका थियौ ७जना मात्रै । म नै लम्किएँ काउन्टर तर्फ र सोधे,– ‘भाडा कति हो ?’
‘केवुलकारको सहित प्रति ब्यक्ति आरएम१०:६०सेन ।’ भनेर काउन्टरको केटीले सोधी,– ‘कतिवटा दिऊँ ?’
‘११जना ।’ भनेर मैले आरएम११६:६०सेन दिएँ । टिकट दिदै काउन्टरको केटीले निर्देशन गरी,– ‘२नं प्लेटफर्ममा जानु ।’
हामी सातै जना २नं प्लेटफर्म तर्फ बढ्यौ । नआईपुगेका साथीहरुलाई पनि २नं प्लेटफर्ममा आउन भन्यौ । २नं प्लेटफर्मको प्रतिक्षालयमा राम्ररी बस्न नपाउदै राज अविरल यात्री र निश्चल परदेशी पनि आईपुगे । 
‘चर्पी कहा छ ?’ हालखवर सँग मिसाएर राजले सोधे । मैले भने,– ‘हिड्नुस म पुयाई दिन्छु ।’
हामी हिडेको देखेर शम्भुले सोधिहाल्यो,– ‘ट्वाईलेट हो ?’
‘जौ, जाने हो ?’ भन्दिए पछि शम्भुले पछ्यायो ।  
फर्किएर आउदा श्रीजन श्री आईपुगि सकेका रहेछन । गेन्तिङको जाडो छल्न उनले मोटो ज्याकेट भिरेका थिए । गफ गेन्तिङको जाडो कै हुदै थियो । कसले मनि दाईको पहिरन देखेर गिज्याएछ कुन्नी ! झोला भित्रको बोतल निकालेर दाईले भन्दिए,– ‘मेरो जाडो छल्ने तातो यहा छ ।’
अघिसम्म भिखुमाको झोल ठान्ने साथीहरुले जिल खाए । 
‘११जनाको ग्रुप तिमेरु नै हैन ?’ सोध्दै काउन्टरकै केटी आई र भनी,– ‘तल झर, १०बजेको बसमै जाने तिमेरु ।’
हामीलाई दिईएको समय भन्दा आधा घण्टा छिटो जान पाउनु खुशी कै कुरो थियो । तर राम रेप्चेाङ अझै आईपुग्नु भएको थिएन । हामीले भन्यौ,– ‘हाम्रो एक जना साथी आईपुगेको छैन ।’
‘नो प्रोबलम, तेरो साथीलाई २नं प्लेटफर्ममा जा भन, १०:३०को बसमा म चढाई पठाउछु ।’ भनी र टिकट अनि नाम मागी । RAM टिकटकेा पछाडी लेखेर हामीले छोड्यौ । श्रीजन श्रीले राम रेप्चोङलाई कल गरेर सबै प्रष्ट्याए । ‘जहा बसे पनि हुन्छ ।’ बसवालाले भने पछि हामी १०जना खाली र पायक पर्ने सिट खोज्दै जोडी बाधिएर बस्यौ । 
१०बज्यो, बस गुड्यो । बसले कोताराया छोडे पछि हासीमजाक शुरु भयो । मैले नै शुरु गरे,– ‘यो बसवालाहरुले नि नेपाली बुझ्दा रहेछन् । ९ बजे भेला भै सक्ने, १०बजेको बसमा हिड्ने फेसबुकमा हाम्रो सुचना देखेछन् । त्यही भएर १०:३०को टिकट बेचे पनि १०बजेकै बसमा चढाए । हामी मध्येको कोहीसँग फेसबुक एड भएको होला यिदेरको ।’
हासी मजाक त हो । तर ‘म सँग एड छ’ भन्ने मजाक कोही साथीले गरेनन ।
म र गनिन्द्र विवश जोडी बाधिएर बसेका थियौ । विवशको पहिलो यात्रा रहेछ गेन्तिङ । ‘बहुत जाडो हुन्छ ।’ –सुनेका रहेछन, गतिलै ज्याकेट पहिरीएका थिए ।  म त झण्डै ६/७ पटक पुगेको हुँला । हामीले गेन्तिङको जाडोको कुरा ग¥यौ । अलिकति ब्यावहारीक कुरा ग¥यौ । केही साहित्य सम्बन्धी कुरा ग¥यौ । डायस्पोरिक साहित्यमा हिजोआज इस्राईलको खुबै चर्चा हुन थालेको छ । विशेषत महिलाहरुको सहभागिता र सक्रियता बारे मै चर्चा ग¥यौ । हामी भन्दा पछिल्लो सिटमा बसेका साथीहरु श्रीजन श्री, निश्चल परदेशी, राज अविरल यात्री, मनोज विराली पनि भर्खरै मलेसिया प्रवेश भएको मिरा मन थापाको गजल संग्रह ‘माटो, मुटु र मन’ माथि टिप्पणी गर्दै थिए । देब्रे साईटको सिटमा बसेका मनि राई गोठाले भिम स्नेहीलाई सम्झाउदै थिए,– ‘बाथको बिमारीले माछा खानु हुदैन, गेडागुडी खानु हुदैन । तामा त झन खानै हुदैन ।’
खानु नहुने खानेकुराको लिष्ट लम्ब्याएर किन तर्साउनु भनेर मैले हतपत भन्दिएँ,– ‘भाई ! स्यालको मासु खानु ।’ खै कसले पो हो कुरो थप्यो,– हो हो स्यालको रक्सी खानु ।
‘राम जी हिडिसक्नु भयो रे !’ लगभग आधाबाटो कटिसकेका थियौ होला, श्रीजन श्री ले जानकारी गराए । केवुलकार चढ्ने ठाउँमा पर्खिने निधो भयो ।
‘झण्डै एकघण्टा नै लगाउदो रहेछ ।’ –बसबाट झर्दाझर्दै नाडीमा घडी बाध्ने साथीहरुले भने । राम रेप्चोङलाई पर्खिने भनेको ठाउँमा हामी आईपुगिसकेका थियौ । हामीसँग केही समय थियो । साथीहरुले क्यामेरा निकाले र क्लिक मार्न थाले । असली क्यामेरा भन्दा त मोवाईल क्यामेराको संख्या नै बढी देखियो ।
आधाघण्टा पश्चात राम रेप्चोङ आईपुगे । बसबाट झर्दाझर्दै मैले देखिहाले । हात हल्लाएर ईसारा गरे । ईसारा गरीरहेको मेरो हात देखेन छन् अलमलिएको जस्तो देखिए । जव देखे अनि अंगालो हाल्न आईपुगे । हामी पुरै ११जना भेला भयौ । केवुलकार चढ्नु पहिले ग्रुपिङ फोटो खिच्ने कुरो भयो । ग्रुपिङ भनेर के गर्नु ! एक जनाले त क्यामेरामा क्लिक मार्नु पथ्र्यो । फोटोमा १०जनाको मात्रै अनुहार निस्किने भयो । 
लिफ्ट चढेर चार तला माथि पुग्दा देखियो केवुलकार चढ्नेको लाईन । लाईन लामै थियो । लामो लाईनमा हामी ११जना थपिए पछि लामो त हुने नै भयो । तर केवुलकारको गेाण्डोलाले ६जना सम्म टिप्दो  रहेछ । हामी भन्दा अगाडीका भकाभक टिप्दै लाग्यो, हामी गेाण्डोला नजिक नजिक हुदै गयौँ ।  हामी ११जनाको लाईन चुडिएको थियो । बिचमा चाईनिजको ग्रुप मिसिए पछि म, राज अविरल यात्री, शम्भु भण्डारी, मनोज विराली, गनिन्द्र विवश र एन.आर.भट्ट अगाडी भयौ । मनि राई गोठाले, श्रीजन श्री, राम रेप्चोङ, भिम स्नेही र निश्चल परदेशीले चाईनिजको ग्रुपलाई विचमा घुस्न दिए र पछाडी परे । लाईनमा उभिरहेकै बेला मनि दाई मलाई हेर्दै हाँसे । किन हाँसे ? खास कारण थाहा भएन । तर, प्रसंग हाँस्नै पर्ने होला भनेर मैले हाँस्न सघाई दिएँ ।
‘यो चाईनिजहरुलाई अगाडी जान दिनु नि ! हामी सँगै जाउँला ।’ –मनि दाईले हामीलाई आग्रह गरे । दाईले भने जस्तै ग¥यौ । सँगै जाने भनेर के गर्नु ? गोण्डोलाले बोक्ने ६ जना मात्रै हो । हामीलाई फेरी छुट्टाई हाल्यो ।
गोण्डोला भित्र पसेको केही क्षणमै केवुकारले गति लियो । साथीहरु रोमन्चित भए, फोटो खिच्न थाले । भिडियो रेकर्ड गर्न थाले । राज अबिरल यात्रीले गजल वाचन गरेको भिडियो रेकर्ड गर्ने मनोज बिरालीले कार्यक्रम सञ्चालन गर्ने शैलीमा आफ्नो प्रस्तुति पनि रेकर्ड गराउदै थिए । उनले मलाई नि पछाडी फर्केर बोल्न भने । पछाडी फर्किदा पछिल्लो गोण्डोला भित्रका मान्छे तरक्कै देखियो ।‘उ मनि दाई’ भन्न नपाउदै साथीहरुले श्रीजन श्रीलाई नि देखेछन । सायद ! उनी गफ लगाउदै थिए, हामी मध्ये कै कसैले भन्यो,– ‘श्रीजन श्री हत नचलाई बोल्नै जान्दैन ।’ 
थुम्को उक्लदा सिधा उकालो, खोचमा झर्दा करलो करलो ओरालो, अनि पहाडको टुप्पो भेट्दा सिधा ठाडो लसक लसक गर्दै ठुलोघर भित्र प्रवेश गरे पछि केवुलकारको यात्रा सिद्धियो । हामी हाम्रो गन्तब्यमा आई पुगिसकेका थियौ । दृश्यलोकन गर्दै घुम्न थाल्यौ । म जस्ता पटक पटक पुगेकोलाई त गेन्तिङको सुन्दरताले खिचिरहेको थियो भने पहिलो पटक पुग्ने साथीहरु त लठ्ठिने नै भयो । साथिहरु गेन्तिङको सुन्दरतामा लठ्ठिदै गए ।
हाम्रो लक्ष्य घुम्नु मात्रै थिएन, साहित्य वाचन गर्नु पनि थियो । केही समय घुमघाममा बिताउछौ र खानपिन गर्छौ । त्यसपछि साहित्य वाचनको निम्ती स्थान चयन गर्छौ र चयन गरिएको स्थान तर्फ मोडिन्छौ ।
लहरै उभिएका धुपीको बुटाहरुलाई साची राखेर हामी कथा, लघुकथा, कविता, गजल, गीत, मुक्तक वाचन गर्छौ । तल खोँजबाट उड्दै आउने अनि हामीलाई छुदै जाने बादललाई हाम्रो सृजना सुनाई पठाउछौ । र, शरिरको छालालाई भेदन गर्दै मुटु कमाउने चिसो सिरेटोलाई भनी पठाउछौ,– ‘तैले जस्तै आज वाचन गरीएका हाम्रा सृजनाहरुले पनि मुटु कमाउने दम राखोस ।’
‘समुद्र दन्केपछि माथि पनि समिक्षा गरौ न !’ गनिन्द्र विवशबाट प्रस्ताव आउछ । ‘समुद्र दन्केपछि’ गजल संग्रह अनाममण्डली मलेसियाको संप्रति हो तसर्थ अध्यक्षको नाताले यस संग्रह माथि समिक्षा गराउनु दायित्व ठान्नु भएको हो कि ! सन्तुष्टी कम असन्तुष्टी बेसी मै संग्रहमाथिको समिक्षा सकिन्छ । 
बेला कति भयो ? –घाम हेरेर बताऊँ भने बादलले निलेको छ । नाडीमा घडी बाँध्ने साथीहरुले नै भने,– साडे चार भो ।
‘अबेला भएछ ।’ प्रायः सबैको अनुहार बोल्यो । हामीलाई हतारो भएर के हुन्छ ? टिकट काउन्टरवालाले १७:५०बजेको टिकट थमाई दिए पछि परि हालियो नि खिस्रिक्क !
१७:५०बजे टिकटमा लेखेर के गर्नु ! हामीलाई टिप्ने बस आईपुग्दा १८बजी सकेको थियो । तोकेको समय भन्दा ढिला किन ? भनेर निहु खोज्ने कुरो भएन । लुरुलुरु बसमा उग्लियौ । हामी बसेको केही बेरमै बसले केएलको बाटो समात्यो । हामीलाई बोकेको बस नागबेली सडकमाथि गुड्दै ओरालो झर्दै गर्दा बाहिरकेा वातावरणमा पानी दर्किरहेको थियो । 

                                                                                                   बोधे - ९, धनकुटा 
                                                                                               हाल : केएल मलेसिया