गीत

मरे पनि भेा ...
                                                    भीम स्नेही लिम्बू



तिमी बिना के बाच्नु र अव मैले मरे पनि भो
हाँगा छोडी पात जस्तो वसन्तमै झरे पनि भो ।


जल्नु कस्तो हुन्छ सोध बलेको आगोलाई
थाम्न कस्तो हुन्छ सोध मन सिउने धागोलाई

पुनरमिलन हुन्छ भन्ने आसानै नगरे पनि भो
हाँगा छोडी पात जस्तो बसन्तमै झरे पनि भो ।


दुख्नु कस्तो हुन्छ सोध विधुवाको मनलाई
कसरी पो सम्झाउनु मेरो एक्लो पनलाई


तिमीलाई भुल्न अव समुन्द्रनै तरे पनि भो
हाँगा छोडी पात जस्तो बसन्तमै झरे पनि भो ।


                                                 फक्चामारा - ४ तेह्रथुम




हाँस्न सिकायैा...
                                         राज अबिरल यात्री


आँशुहरु रित्ते पनि हाँस्न सिकायौ
लाशमा थे सासै छँदा बाँच्न सिकायौ
त्यसैले त दैव माने तिमी एउटालाई
ढुंङ्गा भनि छाडी दिए अनि देउतालाई ।


हाजर चोट छाति भित्र अझै जल्दै थियो
बाँच्ने आश रित्तिएर जीवन ढल्दै थियो
जीवन भरोषा माने तिमी एउटालाई
ढुंङ्गा भनि छाडी दिए अनि देउतालाई ।

हराएका खुःशीहरु फिर्ता आए आज
ढल्दैन यो जीवन अब साथ पाएँ आज
यो जिन्दगी सुम्पेकी छु तिमी एउटालाई
ढुंङ्गा भनि छाडी दिए अनि देउतालाई ।

                                                इलाम

                                                हाल मलेसिया
                                               रचना १० अगस्त २०११ के एल




          रम तिमी उजेलीमै
                                        -गनिन्द्र विवश


रम तिमी उजेलीमै म रमाउला अधेरीमा
तर किन काँडा रोप्यौ मेरो दीलको मझेरीमा

जून दिन सक्दिनथे न त सक्थे तारा
केवल दिन्थे स्नेह आजीवन साहारा
रम तिमी बर्षातमै म रमाउला खडेरीमा
तर किन काँडा रोप्यौ दीलको मझेरीमा

बेचिएको प्रेम न हो छेक्दिन आँशु पुछ्दैे
म सोच्थे उनले दिने मैले दिने माया उस्तै
रम तिमी मैदानमै म रमाउला पखेरीमा
तर किन काँडा रोप्यौ मेरो दीलको मझेरीमा

-फाक्चामारा - ४ तेह्रथुम
हाल - प्रवासी भूमिमा


                परदेशी

                     जीवन देवान गाउँले

आफैलाई नढाँटी भनिदेउ परदेशी,
कैलेसम्म मैले एक्लै, धाउनु लेकबेसी ?

नङ्गमासु झै हुन्छु भन्थ्यौ, नाता जोड्नु अघी
जहाँ जान्छौ छायाँ बनी आउछु पछिपछि
आफ्नै वचन पुरा गर्लौ, तिम्ले कैलेदेखि ?
आफैलाई नढाँटी भनिदेउ परदेशी,
कैलेसम्म मैले एक्लै, धाउनु लेकबेसी ?

जोडी ढुकुर हुनुपर्छ, भन्ने पनि तिमी
फेरी आफु एक्लै उडी, जाने पनि तिमी
अझ कति कुरीबस्नु, आउने बाटो हेरी ?
आफैलाई नढाँटी भनिदेउ परदेशी,
कैलेसम्म मैले एक्लै धाउनु लेकबेसी ?

                               बोधे - ९, धनकुटा
                               अचेल - मलेसिया



                         सम्झना

                                  -जीवन देवान गाउँले

निन्द्रा मात्रै खलबलाउन, तिमी राती राती
सम्झनामा आउनु भन्दा, नआएकै जाती

कहिले आउछौ सपनीमा, अंगालेमा बाँध्छौ
आधारातमा ब्युझाएर, आफु चाही भाग्छौ
झस्काई झस्काई चखाउन, यादको तितेपाती
सम्झनामा आउनु भन्दा, नआएकै जाती

टाढा कतै छाडे ठान्थे, पिछे रै छ छायाँ
सात समुन्द्र तरी आउने, गाँस्यौ कस्तो मायाँ
स्मृतिको पुल्ठो बाली, जलाउन छाती
सम्झनामा आउनु भन्दा, नआएकै जाती

-बोधे ९, धनकुटा
-अचेल मलेसिया