Monday, December 27, 2010

लघुकथा: मायाको भाँडो र म

-जीवन देवान गाउँले

माया मलेसिया भित्रिनु र मेरो घर ब्यवहारमा दशा भित्रिनु एकैसाथ भयो । होला!उ मलेसिया भित्रिएपछि उसको घर ब्यवहार मजबुद भयो तर मेरो घर ब्यवहारको चाही पेच खुस्कियो र दुर्घटना हुने संकेत देखा पयो । अरु त अरु एक रथको दुई पंग्रा भनिने दम्पती सम्बन्धको एउटा पंग्रा पनि उछिटिउला झै लिखिर लिखिर हल्लिन थाल्यो ।
माया छिमेकी गाउँले हुन । उ सँग पारिवारीक नाता छैन तर हामी विच दाजुबहिनीको बोलाउने साईनो छ । उ मलेसिया भित्रिएको पुगनपुग एक साल भयो होला । कम्पनी के काम कस्तो तलव सेवा सुविधा कति मलाई थाहा छैन । तर बुझ्दा थाहा भएको हो कम्पनी - ईलेक्टोनिक्स काम - सामान प्याक गर्ने तलव - आर.एम.७०० देखि आर.एम.१००० सम्म आवस - उपलब्ध कम्पनी देखि होष्टेल सम्मको यातायात - सेवा सुविधा । बस ।
आर.एम.७०० देखि आर.एम.१००० सम्मको आम्दानीबाट यति समयमा मायाले गाउँमा गरेको प्रगती यस्तो छ- गाउँभन्दा अलिमाथि बजारमा घर बनाएकी छे, भात खानलाई कुलो लाग्ने खोलाखेती किनेकी छे । जुन प्रगती मैले तीन बर्ष बस्दा पनि गर्न सकेको छुईन । मायाको यो प्रगती नै हामी लोग्ने स्वास्नी विचको किचलोको विषय बनेको छ ।
आम्दानी र खर्चको सवालमा माया कति प्रष्ट छे ? त्यो मलाई थाहा हुने कुरो भएन तर आफ्नो आम्दानी र खर्चमा भने म प्रष्ट छु । आर.एम.१५०० मासिक तलब बुझे पछि महिनावरी हुने मेरो खर्च विवरण यस्तो छ- खाना खर्च आर.एम.२००, टेलिफोन खर्च आर.एम.३००, पकेट खर्च आर.एम.१५०, मसलन्द खर्च आर.एम.५० । बचेको आर.एम.८०० श्रीमतीको नाऊमा नेपाल पठाउने गरेको छु । र त्यो पैसाको हिसाव किताव पनि प्रष्ट छ रु.१०००० मासिक घरखर्च र बाँकी भैपरी आउने खर्च । भैपरी आउने भनेर छुट्टाएको रकम पनि वचत हुदैन । दुःख विमार, ईष्टमित्र, पाहुनापात, मराउ-पराउ, विहे कार्जे, दुःखकार्जे … एउटानएउटा कारणमा त्यो पनि खर्च हुन्छ । यसार्थः आम्दानी घटाउ खर्च बराबर सुन्य वचत ! छ भने प्रगती कसरी हुन्छ ?
मेरो आम्दानीको आय-ब्याय विवरण स्पष्ट हुदाहुदै पनि म माथि श्रीमती शंका गर्छे । बुझ्छु ! 'म यौन दुराचारी भएर फजुल खर्च गर्छु ।' श्रीमतीको शंका यही हो । स्पष्टीकरण दिदादिदा हैरान भएपछि हामी विच संवाद भन्दा विवाद वेसी हुन थालेको छ ।
म - पैसा पैसा भनेर भोकै बस्ने कुरा भएन !
श्रीमती - के माया चाही नखाई बस्छे
म - तिमेरलाई पनि फोन गर्नै पर् यो !
श्रीमती - मायाले पनि घरमा फोन गरीरहन्छे ।
म - तिमेरलाई पनि सबैथोक किनेरै खानु पर्ने !
श्रीमती - मायाको परिवारले पनि दोकान कै चामल किनेर खान्छन ।
म - छोराछोरीलाई पनि बोडङ्ग नै पढ्नु पर्ने !
श्रीमती - मायाका भाईबैनी पनि बोडिङ्ग नै पढ्छन ।
अन्ततः श्रीमतीको शंका अघि मेरो सत्यता निरीह हुन्छ । यही मौका छोपेर एकपटक श्रीमतीले यसो सम्म भनी- 'यो लोग्नेमान्छे जात ! जतै गएपनि केटी नभई नहुने । अव तिमी फर्क र घर सम्हाल म परदेश सम्हाल्छु ।'
म सँग काम गर्ने एकजना साथी छ उ पनि यसै भन्छ- 'मर्दको जाहीताही नामर्दको काहीनकाही । लंकामा सुन छ कान मेरो बुच्चै भन्या जस्तो श्रीमती पो नेपालमा छ तर मेरो मर्दागीनी त मसँगै छ नि । फेरी यो भाँडोको विशेषता पिसाप फेर्नु मात्रै पनि त हैन ।' अनि उ मदार्िङ्गनी सफा गर्न खर्च गरेरै आफुसँग भएको भाँडो प्रयोगमा ल्याउछ र भन्छ- 'फोगटमा त सार्वजानिक सौचालयमा पनि पिसाप फेर्न पाईदैन ।'
उ आफुसँग भएको भाँडोको प्रयोग राम्रैसँग गर्छ र तलव त्यसैमा सिध्याउछ । पछिल्लो समय एकवर्ष यता देखि उसको सम्बन्ध नेपाली केटीसँग छ । त्यो केटीको नाम मैया रे काम ईलेक्टोनिक्स कम्पनीमा । केटीको बारेमा मलाई थाहा भएको यती नै हो ।
एकदिन यस्तो संयोग पर् यो । सार्वजानिक विदाको दिन थियो । जिब्रोलाई फाष्टफुडको स्वाद चखाउन भनेर म के।एफ।सि। खादै बसिरहेको थिएँ । अपत्यारीलो लाग्ने गरी एकजोडी मेरो सामुन्य उभिन आईपुग्यो । जोडी मध्येको केटा त्यही साथी थियो जसलाई मैले नचिन्ने कुरै भएन । केटी थिई -माया उसलाई पनि चिने । एउटै टेवलमा बसेर के।एफ।सी। खाईन्जेल बातचित भएपछि उनीहरु म बाट छुट्टिए । त्यसपछि कता गए मलाई थाहा भएन ।
मायासित भेट भएपछि धेरै कुरा थाहा भयो । खास त उसको अदृश्य कमाई थाहा भयो । त्यही रात मैले श्रीमतीलाई भने- 'बुढी ! म पनि माया हुन जानेको भए पैसा कमाउने थिए तर म त भगवान बाटै ठगिएको छु । किनभने भगवानले मायालाई जस्तो कमाउने भाँडो मलाई दिएन ।'
मेरो कुरो श्रीमतीले बुझी या बुझीन तर भन्नलाई यति भनी - 'बुढो ! बरु भोकै बसौला तर खाँदा ईमानको कमाई खाउला र इज्वतको जिन्दगी बाँचौला ।'
त्यसदिन यताबाट हामी श्रीमान श्रीमती विच पुनः सम्वाद हुन थालेको छ ।

समाप्त

बोधे ९ धनकुटा
अचेल - मलेसिया
सम्पर्क ः ०१६३९१९५९०

No comments: