Thursday, July 22, 2010

विज्ञानभित्र कोरिएका कविता


-गोपीकृष्ण ढुंगाना
'झर्ना झर्न सकेन हो हिमचुली कालै बनेको किन ?
को हो भन्न भुलेर कोयल रुँदै ऐया भनेको किन ?
चौतारी पनि मौन खिन्न बटुवा छायाँ सुकेको किन ?
हावामा पनि प्राण छैन किन हो हावै दुखेको किन ?'
जीवन र जगतसँग सम्बन्धित हुन्छन् कवि र तिनका कविता । समाजका प्रत्येक घट्ना र दुर्घटना नै साहित्यका विषय हुन् । यही कुरोलाई पुष्टि गरेको छ माथिको छन्द कविताले अनि त्यसका सर्जक नवराज लम्सालले । जीवन र जगत्ले नसमेटेको विषय के होला ? सम्भवतः जीवन र जगत्सँग पार्यवाची बनेर आएको छ -विज्ञान । त्यसैले साहित्यिक मनहरुले पनि आफ्ना सिर्जनामा विज्ञानलाई समेट्ने गरेका छन् ।
भानुजयन्तीकै अवसरमा आयोजना गरिएको एक कार्यक्रममा प्रज्ञा प्रतिष्ठान पुगेका स्रष्टाहरुले फरक धार पाए अर्थात विज्ञान कविता । १९७औ भानुजयन्तीका सन्दर्भमा नेपाल प्रज्ञाप्रतिष्ठान र त्रिभुवान विश्वविद्यालय प्राकृतिक विज्ञान संग्रहालयले संयुक्त रुपमा बुधबार राजधानीमा विज्ञान कवितागोष्ठी को आयोजना गरे । कार्यक्रममा कतिपयले उत्पत्तिलाई विपत्तिको संज्ञा दिए त कतिपयले प्रकृति र वातावरणलाई कवितामा चित्रण गरे । विज्ञान र साहित्यलाई कसरी सहयात्रा गराउने भन्ने गोष्ठीको एउटा पक्ष थियो भने समाजलाई साहित्य र विज्ञान दुवै आवश्यक भएकोले संगम आवश्यक छ भन्ने बोध गराउनु अर्को पक्ष थियो ।
गोष्ठीमा विज्ञान कविताको सन्दर्भमा एउटा कार्यपत्र प्रस्तुत भयो । डा.इशान गौतमले विज्ञान कवितालाई यसरी पुष्टि गरे,- 'विज्ञान कविताले आफ्नो विषय वैज्ञानिक मापनदेखि वैज्ञानिक प्रतीक, दीक् र काल, जीवविज्ञान, रसायनविज्ञानदेखि जलवायुविज्ञान, वातावरणविज्ञान, कम्प्युटरविज्ञान र अभियान्त्रिकी इन्जिनियरिङ सम्मबाट लिन वा उठान गर्न सक्छ ।'
कविलाई दर्शन विज्ञान र वातावरण अनि ऐतिहासिक घटनाबाट विच्छिन्न गर्न नसकिने बताउने गौतमले कार्यपत्रमा भनेका छन्,- 'विज्ञान कविताले विशिष्ट वैज्ञानिकलाई पनि सामान्यीकरण गर्नसक्छ गटेले टु इनफः टु द फिजिसिस्टमा गरेजस्तै । विज्ञान कविताले गीतादेखि सोनेट डामेटिक मोनोलगदेखि मुक्तक हाइकुजस्ता कयौ रुप वा प्रकारलाई उपयोग गर्न सक्छ ।' उनका अनुसार विज्ञानले सिर्जनात्मक गैरआख्यान, आख्यान र कविताका लागि सामाग्री प्रदान गर्छ र कहिलेकाही कवि पनि वैज्ञानिकझै अवलोकनकर्ता वा निरीक्षक हुन् । उनले भने, 'विज्ञान कविता एक सौन्दर्यात्मक अनुभव हुनसक्छ । यसले प्रकृतिलाई मानवीकरण गर्नसक्छ । साथै यो अर्थपूर्ण गहिरो र आलोचनात्मक पनि हुनसक्छ ।' कार्यक्रम साचालिका सन्ध्या पहाडीले बाँदरविशेषज्ञा डा.मुकेश चालिसेको नाम बोलाईन् । स्रोता एकछिन अलमल परे बाँदरविशेषज्ञ पनि कवि सबैको जिज्ञासा क्षणभरमै पूरा भयो जब उनले कविता वाचन गर्न थाले,
'चराहरु कराए
उज्यालो हुने भएको छ
तर अहिले अँध्यारै छ
नांगो डाँडोमाथिको एउटा खर्पे जुन
त्यो पनि रोइरहेछ… ।'
अधिकांशले यस शताब्दीका उपलब्धि र विनाश दुवैलाई कवितामा उनेका थिए । हास्यब्यंग्य क्षेत्रमा कलम चलाउने शैलेन्द्र सिम्खडा पनि के कम ? उनले सटिकरुपमा विज्ञान कविता सुनाए । उनले एटम बमको त्रासले विज्ञानले गाली खाएको र आविष्कारले साथ र घात दुवै दिने गरेको बताए । उनले कवितामार्फत भने,- 'राजा वीरेन्द्रलाई बाईपास सर्जरी गरेर बचाउने पनि विज्ञान अनि सपरिवारको जीवन समाप्त पार्ने पनि विज्ञान ।'
गोष्ठीमा वैज्ञानिक कवि विज्ञानका विद्यार्थी गरी २५ जनाको सहभागिता थियो । रामभरोस कापडीले 'मानिस र रोबोट', महेन्द्र गुरुङले 'प्रकृछौ', पुष्पकेशरी श्रेष्ठले 'म खपटे कीरा', माजुलले 'कसरी भन्नु त्यसलाई राम्रो गाउँ', डा.मदन कोइरालाले 'आजको मान्छे र जलवायु परिवर्तन', रामप्रसाद ज्ञावलीले 'छन्दमा पर्वत सुन्दरीको सम्बोधन', समालेचक खुमनारायण पौडेलले 'एक्काईसौ शताब्दी एउटा श्राप एउटा प्राप्ति' शीर्षकमा विज्ञान कविताका सुनाएका थिए । कविताका माध्यमबाट यस्ता वैज्ञानिक पक्षहरु प्रतिबिम्बित हुनुले विज्ञानको क्षेत्रमात्र होइन नेपाली साहित्यसमेत समृद्ध हुने देखिन्छ । विषयको उठान गरिएको लम्सालकै छन्द कविताको अन्तिम अंशले पनि कवि मनहरु विज्ञानको विकासमा खुसी र विनाशप्रति दुःखी बनेको पुष्टि गरेको छ ।
खास्या यान विमानमा घुमीघुमी आकाश छुन्छौ तर हे विज्ञान विकास छैन वशमा धर्ती भयो झन् पर ।

No comments: